अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री रजाक जेल जान सक्ने

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन् ।

उनलाई मङ्गलबार उक्त निकायमा उपस्थित गराइएको छ । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई मङ्गलबार उक्त निकायले उनीमाथि भ्रष्टाचार गरेको भन्ने विषयमा प्रश्न गरेको जनाइएको छ ।

राज्य मातहतको एक कम्पनी एक एमडिबीमा लगानीको विषयमा उहाँको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो । सोही विषयमा उनीमाथि प्रश्न गरिएको हो ।

उनीमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब चार करोड २० लाख मलेसियल रिङ्गीट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ ।

उनीमाथि उक्त खाताको विषयलाई लिएर अनियमितताको प्रश्न उठेको छ । उक्त प्रश्नका आधारमा उनीमाथि मुद्दा लाग्नपनि सक्ने बताउँदै आइएको छ ।

तर उनी प्रधानमन्त्रीबाट हटेको महिनादिन भित्रै यसरी राज्यको भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा उपस्थित गराएर प्रश्न गरिएकोले यसलाई अर्थपूर्णरुपमा लिइएको छ ।

रजाक जेल जान सक्छन्– अन्वर

यसैबीच प्राप्त अर्को एक समाचारमा हालैमात्र जेलमुक्त भएका मलेसियाका पूर्वउपप्रधानमन्त्री अन्वर इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताएका छन् ।

उनले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जानसक्ने बताएको समाचारमा जनाइएको छ । सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएका उनले आफु चाँडै नै संसद्मा फर्किने जानकारी पनि दिए।

उहाँसहितको गठबन्धनले नै हालै भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार निर्माण भएको छ । वर्तमान सरकारले नै उनलाई रिहा गराएको हो ।

मलेसियाका वर्तमान प्रधानमन्त्री ९२ वर्षीय माहाथिर मोहम्मदले दुई वर्षसम्म सरकारको नेतृत्वगरी देशलाई सही बाटोमा लगेर आफूले सत्ता छोड्न पनि सक्ने संकेत गरेको छ ।

त्यसपछि अन्वरलाई नै उनले प्रधानमन्त्रीकारुपमा अघि सार्न सक्नुहुने अनुमानहरु पनि मलेसियाको राजनीतिमा गरिएका छन् ।  -रासस÷एएफपी