अन्तर्राष्ट्रिय

अमेरिका र इरानबीच बबन्डर, कडा प्रतिबन्धको घोषणा

वासिङ्टन । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालैमात्र अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता रद्द गरेपछि यसअघि फुकुवा गरेका सबै प्रतिबन्धहरू पुनः लगाइने तथा इरानले नयाँ आर्थिक प्रतिबन्धको पनि सामना गर्नुपर्ने हुनसक्छ भनेका छन् ।

अमेरिकाको हालैको उक्त कदम अन्तर्गत इरानी सत्तामाथि नयाँ खालको र एक शक्तिशाली आर्थिक दबाब पनि सिर्जना गर्न सकिने विदेशमन्त्री पोम्पेओले बताएका छन् ।

अमेरिकाको यस कदमको युरोपेली संघ तथा सन् २०१५ मा इरानसँग पारमाणविक सम्झौता गरेका विश्वका केही शक्ति राष्ट्रहरुले पनि विरोध गरेका छन् ।

युरोपेली युनियनको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले अमेरिकाको यस कदमको आलोचना गर्दै यसबाट युरोप र मध्यपूर्वी देशहरुमा पनि असर पर्न सक्ने बताएका छन् ।

उनले भनेका छन्– इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट अमेरिका मात्र एक्लै बाहिरिँदा मध्यपूर्वको सुरक्षाको बारेमा पनि सोच्नुपर्नेमा त्यसो हुन नसकेकोले यसबारे सोच्नुपर्दछ ।

सन् २०१५ भन्दा अघिका तथा हालैको यो नयाँ घोषणा भन्दा पनि अघिका अमेरिकी प्रतिबन्धहरूले इरानसँगको सबै व्यापारमा रोक लगाएका थिए । अब त्यसमा झनै कडाई गरिने बताइएको छ ।

इरानको कडा आपत्ति

यसैबीच इरानमाथि अमेरिकाले घोषणा गरेको नयाँ प्रतिबन्धको इरानले कडा शब्दमा विरोध गरेको छ । उसले तेहरानविरूद्ध अमेरिकाले इतिहासकै सबैभन्दा प्रतिबन्ध लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा पनि गरेको समाचारमा जनाइएको छ ।

इरानका राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि पनि अमेरिकाको कदम घातक हो भनेका छन् । उनले अमेरिकाले लगाएको कडा प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको पनि बताए ।

इरानी विदेशमन्त्री जवाद जारिफले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घोषणा गरेको कदम अमेरिकाको असफल नीतिको परिणाम हो भने। -रासस÷एएफपी