कृषि

दोस्रो युवा कृषिउद्यम सम्मेलन सम्पन्न

काठमाडौँ । युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार–साँझ सम्पन्न भएको हो ।

सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषिमा केन्द्रमुखीभन्दा स्थानीयमुखी बजेट विनियोजन गर्नुपर्ने, एक स्थानीय तहमा एक कृषि आधुनिक केन्द्रको स्थापना गर्नुपर्ने, भूकम्पपीडित कृषकलाई राहत उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, कृषकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, विदेशबाट आयात गरिएका कृषि सामग्रीमा लाग्ने भन्सार छुट गर्नुपर्ने, विषादी मल प्रयोग गर्ने कृषकलाई कारबाही गर्नुपर्ने र विद्यालयदेखि नै कृषि शिक्षा पढाउनुपर्ने घोषणापत्रमा उल्लेख छ । सम्मेलनमा देशभरका झण्डै २०० युवाको सहभागिता रहेको थियो ।

सहभागी युवा उद्यमीलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले कृषिको परनिर्भरता कम गर्न युवाको आकर्षण बढाउनुपर्ने बताए । “कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु जरुरी छ,”– उनले भने ।

फोरएच नेपालका सल्लाहकार डा चिरञ्जीवी भट्टराईले गत वर्षदेखि शुरुवात भएकोे युवा आकर्षित कृषि जनचेतना कार्यक्रम यस वर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा देशभरका ३०० व्यवसायीमध्ये तीन उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा माछापालक अशोक अधिकारी, रीता श्रेष्ठ र ताराओम थापा रहेका छन् । उनीहरुलाई जनही रु २० हजार, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।