कृषि

‘उखु विकास बोर्ड गठनको विकल्प छैन’

महोत्तरी । उखु किसानका समस्या समाधान गर्न सरकारले उखु विकास बोर्ड गठन गर्नुपर्नेमा यहाँका किसानले बताएका छन् ।

उद्योगीले वर्षेनी यहाँका हजारौँ किसानलाई कहिले चलान (उखु आपूर्ति पूर्जी) को नाममा त कहिले भुक्तानीको नाममा ठग्दै आएका छन् । समस्या समाधान गर्न उखु विकास बोर्ड आवश्यक भएको किसान मनु अधिकारी बताउछन् । उद्योगमन्त्री मातृकाप्रसाद यादवले दिएको चेतावनीलाई समेत यहाँका चिनी उद्योगीले वेवास्ता गरेका छन् ।

“उखुको भरमा नै जीवनयापन गर्दै आएका किसान मारमा छन्,” उनले भने ।

उखु उत्पादक संघका पूर्वअध्यक्ष महाशंकर थिङले उपभोक्ता, उखु किसान, उद्योगी र सरकारका प्रतिनिधि सम्मिलित टोलीसहितको उखु विकास बोर्ड गठन गर्नुपर्नेमा जोड दिए ।

उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा उद्योगी र किसानबीच सम्झौता हुन नसकेको अवस्थामा बोर्ड उपयुक्त भएको बताउछन् ।

यसैबीच उखु उत्पादक कृषक संघको अगुवाइमा आजपनि किसानले रामनगरस्थित एभरेष्ट चिनी उद्योगमा तालाबन्दी गरेका छन् । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट चिनी उद्योग रामनगरले किसानसँग खरिद गरेको उखुको रु १७८ करोड तिर्न बाँकी रहेको छ ।

एभरेष्ट चिनी उद्योगले मौज्दात ९० प्रतिशत चिनी बिक्री नभएका कारण उखुको भुक्तानी रोक्का गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।