राजनीति

पार्टी एकताः अहिलेसम्म केके भयो ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा ९माओवादी केन्द्र० सँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताएका थिए ।

उनले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

संघीय संसद्, प्रदेश, स्थानीय तहमा समेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमा समेत खुशीको सञ्चार भएको बताए ।

उनले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिएका थिए ।

नौजनाको हेडक्वार्टर बन्ने 

एमाले र माओवादी केन्द्रको एकतापछि नौ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ । एकता संयोजन समितिमा रहेका आठजना र थप एक सदस्य रहने गरी सो व्यवस्था गरिएको सचिव भट्टराईले जानकारी दिए ।

एकता संयोजन समितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहनेछन् । सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ । पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता रहने सहमति भएको छ ।

माओवादीको केन्द्रीय सचिवालय बैठक 

यस्तै, पार्टी एकताका बारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको विषयमा जानकारी गराएका ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा एकताका बारेमा जानकारी गराएका थिए । बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यका बारेमा छलफल भएको थियो ।

संयुक्त केन्द्रीय समितिको बैठक 

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ । सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव भट्टराईले बताए ।

दुबै पार्टीले आज मात्रै एकता प्रक्रियालाई अन्तिम रुप दिने निर्णय गरेका हुन् ।