लुम्बिनी

प्रहरी कार्यालय स्तरोन्नतिको माग

prahari

६ कात्तिक, रामपुर (पाल्पा)। इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई समक्ष नागरिकले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका हुन् ।

शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको अध्ययनको लागि छलफलमा आउनुभएका प्रहरी उपरीक्षक भट्टराईसँग रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा शान्ति सुरक्षा मजबुत बनाउन स्तरोन्नतिको अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले डिएसपीको दरबन्दी र मुद्दा दर्तालगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् ।

प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दा रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताए । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपको लागि पहल भइरहेको बताउँदै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताएका छन्। रामपुरमा जनघत्व बढ्दै गरेको अवस्थामा विभिन्न आपराधिक क्रियाकलाय, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपीसहितको दरबन्दी तत्काल आवश्यक परेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउछन्। आवश्यक संरचना तयार पार्न स्थानीय सरकार तयार रहेको उपप्रमुख आचार्यको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले पुरानो जीर्ण मन्दिरमा बसेर सेवा दिनुपरेको बताए । नयाँ भवन निर्माण भएमा नागरिकलाई सहजरुपमा सेवा दिन पाइनेछ । प्रहरीमा आएका विभिन्न मुद्दा तथा घटनाको अध्ययन अनुसन्धान गर्न पुरानो र जीर्ण भवनमा बसेर सेवा दिन समस्या छ ।

इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्य भएको हो । एशियाली विकास बैंक (एडिबी) को समन्वयमा बन्ने भवनको स्थलगत अनुगमन र सरोकारवालासँग छलफल भएको छ । महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरिएको छ ।

एडिबीले नेपालका विभिन्न दश स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको भवनका लागि अध्ययनमा आएको इञ्जिनियरसहितको टोलीले भवनका लागि कम्तिमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको हो । दश स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्नेछन् ।

कम्तीमा भवन निर्माणको आधार तथा जग्गा र चौकिल्लाबारे अध्ययन गरेको टोलीले पहिलो चरणको यो अध्ययनको रिपोर्ट एडिबीमा बुझाउने बताएको छ । इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा छ । प्रहरी कार्यालयको नाममा रहेको जग्गा आवश्यक पूर्वाधार थप गर्न उपयुक्त रहेको टोलीले जनाएको छ ।

उन्नत जातका बाख्रा वितरण

रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आबद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।

सदस्यको आयआर्जन बढाउने उद्देश्यले प्रतिव्यक्ति एक/एक उन्नत जातका बाख्रा वितरण गरिएको समूहका अध्यक्ष पवित्रा ढकालले जानकारी दिएका छन्। रम्भा गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारी एवं इन्द्रेणी समाज केन्द्र नेपालको समन्वयमा सञ्चालित रम्भा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको हो ।

बाख्रा सहयोग पाएपछि समूहमा आबद्ध सदस्य उत्साहित बनेको रामप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण भेगका नागरिकको आयस्तर उकास्न हेफर प्रोजेक्टले उन्नत जातका बाख्रा सहयोग गरेको छ ।