प्रदेश 1

“चक्रघट्टीमा दोस्रो १ नं प्रदेश स्तरिय कबिता प्रतियोगिता हुने”

५ कात्तिक, चक्रघट्टी स् पूर्वेली साहित्यिक मञ्च वराहक्षेत्र नगरपालिकाले आगामी ११३ औं लक्ष्मी जयन्तीको अवसरमा ‘दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । गत १११ औं लक्ष्मीजयन्तीका अवसरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको दोस्रो संस्करणका रूपमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
शुभ दीपावली तथा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा मञ्चको स्थापनाकालदेखि नै प्रत्येक बर्ष आयोजना हुँदै आएको लक्ष्मीजयन्ती बिशेष कार्यक्रम कोरोना महामारीका कारण गत बर्ष भनें आयोजना भएन । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष आगामी कात्तिक १८ गते बिहिबारका दिन वराहक्षेत्र नगरपालिका-६, चक्रघट्टीमा सो कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको आयोजकले बताएको छ ।
‘प्रतियोगितामा प्रदेश नम्वर एक भरीबाट प्राप्त भएका कविताहरु मध्येबाट उत्कृष्ट २० कविता वाचनका लागि छानिनेछन् । सोही उत्कृष्ट २० कविताहरु अन्तिम चरण (फाइनल) मा वाचन हुनेछन् र तिनै कविताहरुबाट उत्कृष्ट ४ लाई पुरस्कृत गरिनेछु मञ्चका अध्यक्ष सन्तोष चौलागाईंले भने । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय तथा सान्त्वना हुने कविहरुलाई क्रमशः नगद रु १०,००० रु ५,००० रु २,००० र रू १,००० सहित प्रमाणपत्र प्रदान गरिने पनि अध्यक्ष चौलागाईंले जानकारी गराए । कार्यक्रममा प्रदेश नम्बर १ सहित देशैभरिबाट स्थापित कवि तथा लेखकहरूको उपस्थिति समेत रहने आयोजकले जानकारी गराएको छ ।
‘कात्तिक २ गतेदेखि कात्तिक १२ गतेसम्म प्रतियोगिताका लागि कविता पठाउन सकिनेछ ।’ कार्यक्रम संयोजक समेत रहेका मञ्चका उपाध्यक्ष जीवन सापकोटाले भने ।
सूचना सार्वजनिक भएदेखि नै सोधपुछ र केही कविताहरू प्राप्त हुन थालिसकेकाले प्रतियोगिताका लागि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरूबाट उत्साहजनक रूपमा सहभागी आउनेमा आशावादी रहेको मञ्चकि महासचिव सुरक्षा निरौलाले बताइन् । प्रतियोगिताका निर्णायकहरु भनें केही दिनमा टुङ्गो लगाउने र अन्य तयारी भनें तीब्र गतिमा अघि बढाइएको आयोजकले हामीलाई जानकारी गराएको छ ।