पर्यटन/संस्कृति

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

२६ असोज, काठमाडौं । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिए ।

प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् । यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७: ११ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले सुनाए ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।

हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी

हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ । गोरखाबाट ३ : ३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ ।

दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सभागिता रहने जनाइएको छ ।