स्वास्थ्य

कोरोना अपडेटः ७८५ सङ्क्रमित, १२ को निधन

२५ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ ।

आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।