प्रदेश 1

मुलुक र जनताको रक्षामा नेपाल प्रहरीः मुख्यमन्त्री आचार्य

२० असोज, बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएक छन् ।
प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको रक्षा नै देशको रक्षा हो भने। शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राखे । उनले अपराध अनुसन्धानदेखि नै प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भने । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।”
प्रदेशका आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्वभ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भने । उनले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि सङ्घीय प्रहरी ऐन नआएकाले समस्या भइरहेको चर्चा गरे । प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रहरीलाई भौतिक, नैतिक र कानूनी सहयोग गर्ने धारणा राखे ।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना कालदेखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताए । उनले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्च मनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भने ।
अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका सङ्खुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगरका नायब प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु ६० हजारको प्राडा विक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार सो अवसरमा प्रदान गरियो । यस वर्षका एसइई परीक्षामा सर्वोत्कृष्ट प्रहरी कर्मचारीका ३६ छात्रछात्रालाई जनही रु।१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जग्गादातालाई सम्मान र प्रदेशभरिमा शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानलाई पनि सो अवसरमा पुरस्कृत गरियो ।