राजनीति

काँग्रेस हारेकामा चिन्ता छैन, विकास हारेकामा चिन्ता छः नेता लेखक

१९ असोज, कञ्चनपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताएका छन् । दोधारा चाँदनीमा सोमबार नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उनले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नु नहुने बताए ।

राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो । “कांग्रेस हार्दा विकास हार्दोरहेछ तपाईँहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन । विकास हारेकामा चिन्ता छ”, उनले भने, “दोधारा चाँदनीका जनतासमक्ष जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ, अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ । गर्नुपर्ने अझै धेरै छ । त्यो पनि पूरा गर्छौं । जे बोल्छौँ । त्यो पूरा गरेर छाड्छौँ ।”

सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उनले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताए । दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उनले बताए ।

विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको उनले बताए । विकास र समृद्धिका नारा दिइए पनि कुनै पनि देश निर्माणका कार्यहरु अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।