राजनीति

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँ : डा महत

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा लाग्नुपर्ने बताएका हुन् ।

सहमहामन्त्री डा महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि कांग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पारे । अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उल्लेख गरे ।

क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले निरन्तर सक्रिय रहन कार्यकर्तालाई उनले आग्रह गरे । पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उनको भनाइ थियो । उनले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य कांग्रेसको नेतृत्वमा सम्पन्न भएको बताए । पार्टी र संस्थालाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।