प्रदेश 2

कोरोनाकाबीच सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

१६ असोज, बीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो ।

भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।

रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए । सवारी साधन आवतजावतले दुई देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

स्रोत नखुलेको रकमसहित तीन पक्राउ

भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरु सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।