पु.समाचार

चार पूर्वप्रधानन्यायाधीशको अदालतको अवहेलना मुद्दामा दावी नपुग्ने

कास्की,१५ असोज । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । उक्त निर्णयसँगै चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार चार पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक भएको उल्लेख गर्दै चार पूर्वप्रधानन्यायाधीशले गत पुस २४ गते प्रेस विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्तिविरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएका थिए । उक्त आदेशअनुसार उनीहिरु आफैं सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका थिए ।