मनोरञ्जन

जय किशन बस्नेतको धूम ४ को गीत सार्वजनिक, कार्तिक १८ देखि प्रदर्शनमा आउने

१३ असोज, काठमाडौं । नेपाली कलाकारिाता त्यसमा पनि चलचित्र क्षेत्र ध्वस्त भइरहेका बेला नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेतले रिस्क लिएका छन् । सरकारले हल खोल्न दिने निर्णय गरे पनि हलले सिनेमा चलाउने आँट नगरेको र चलचित्र निर्माताहरुले समेत आफ्नो चलचित्र हलसम्म लान अन्कनाउने अवस्था रहेका बेला बस्नेतले भने आफूद्वारा निर्मित पछिल्लो चलचित्र धूम ४ प्रदर्शन गर्ने घोषणा गरेर रिस्क लिएका हुन् ।

बस्नेतको चलचित्र धूम ४ लक्ष्मीपूजाको अवसर पारेर कार्ति १८ गतेदेखि देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुनेछ । देशमा घटिरहेका वास्तविक घटनाक्रमलाई समेत समेटेर सस्पेन्स, थ्रीलर, एक्सन तथा हास्य मसला समेत प्रसस्त समेटेर निर्माण गरिएको धूम ४ मा जय किशनको जोडीको रुपमा समेत ४ वटै युवती देखिएका छन् । उनले ४ वटै युवतीसँग धूम मच्चाएका हुन् ।

अन्य गीत र ट्रेलर समेत चाँडै सार्वजनिक गर्ने बताएका जय किशनले धूम ४ को एउटा गीत भने सार्वजनिक गरेका छन् । पख है काली बोलको उक्त गीतमा जय किशनका साथमा सञ्जोग राणा, जाहान्वी बस्नेत, अनुश्रुत खड्का, बन्दना नेपाल, रोशन श्रेष्ठ, एलिसा खड्का, एनी बिस्ट, एलिशा सुनार, दिप्ती लामिछाने लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

उक्त गीतमा मेलिना राई र राकेश राईको स्वर सुन्न सकिन्छ । सुजन कटुवालले लेखेको गीतको संगीत याम गुरुङले गरेका हुन् । पख है काली गीतको भिडियोमा प्रज्वल रावलको छायाँकन, कमल राईको नृत्य तथा सुवास देवकोटाको सम्पादन रहेको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा।लि।को व्यानरमा जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको धूम ४ का निर्माता रविकुमार महर्जन हुन् । माथी उल्लेखित कलाकारहरुका अलावा उरुषा पाण्डे, शोभित बस्नेत, एन। बि। महर्जन, बिशाल गुप्ता, चन्दन अर्गेजा, केशव शाही, मदन ताम्राकार, शंकर महर्जन, देव महर्जन, बिकाश पुजारी, शुशिला चौलागाई, प्रेमिका शर्मा लगायत कलाकारहरुको समेत अभिनय चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रको लेखन तथा निर्देशन जय किशन बस्नेत आफैंले गरेका हुन् । महामारी छ भन्दैमा निर्माण सकिएको चलचित्र पुरानो बनाएर थन्क्याउनु भन्दा रिस्क लिएरै भएपनि चलाउन लागेको उनको भनाई रहेको छ । स्वदेश तथा बिदेशमा रहेका दर्शकहरुको अत्याधिक माग भएकोले पनि तिहारको अवसरमा चलचित्र चलाउन लागेको बस्नेतले बताए ।

चलचित्र दर्शकहरुकै मनोरञ्जनको लागि निर्माण गरिने भएकोले उनीहरुले माग गरेको बेला चलचित्र दिनु पर्ने कर्तव्यवोध गरेर नै आफूले रिस्क लिएको जय किशनले बताए । आफ्नो बाहेक बाहिरका व्यानरमा जय किशनले अभिनय गरेको दर्जनौं चलचित्र प्रदर्शन हुन सकेका छैनन् ।