पु.समाचार

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण

१२ असोज, काठमाडौं । नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए । आज १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो ।

उहाँका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ । यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

यस्तै अगष्ट महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।