पु.समाचार

परराष्ट्रमन्त्री र भारतका– विदेशमन्त्री भेटवार्ता, सहयोग जारी राख्ने भारतको प्रतिबद्धता

११ असोज, काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।

सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाए।” नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभएको विज्ञप्तिमा जनाईएको छ ।

आजै मन्त्री डा खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवर्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि उक्त नियोगले जनाएको छ । महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ ।