प्रदेश 1

बराहक्षेत्र नगरपालीकाको सभापतिमा राउत/नेपाल/कार्की गरी तीन जनाको उम्मेद्वारी, को बलियो ?

सुबिन विश्वकर्मा/८ आश्विन, चक्रघट्टी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा नेपाली काँग्रेसको अधिवेशन माहोल हेर्न लायक देखिन्छ । केही समय अघि ६ जनाले नगर सभापतिमा इच्छा राखेको भए पनि अहिले त्यो सङ्ख्या घटेर ३ भएको छ ।साबिक पाँच वटा गा।बि।स। मिलेर बनेको वराहक्षेत्र नगरपालिकामा अहिले रत्न बहादुर राउत, नारायण नेपाल र रमेश कार्की नगर सभापतिको दौडधुपमा छन् । सरसरती हेर्दा तीनै जना उत्कृष्ट उम्मेदवार भएकाले पनि प्रतिस्पर्धात्मक माहोल देखिएको हो । वराहक्षेत्र ४ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधि मेघराज पराजुली भन्छन्, कोहीभन्दा कोही कम छैनन्, हामीलाई सभापति छनौट गर्न मुस्किल छ । तीन जनाको आंकाक्षा प्रष्ट देखिएको भए पनि अहिलेसम्म कसैले औपचारिक उम्मेद्बारी घोषणा नगर्दा प्यानलबाट अन्य पदाधिकारीको निश्चित भइसकेको छैन । यसो हुँदै गर्दा वराहक्षेत्रका कुनै पनि नेताले खास एक उम्मेदवारलाई खुलेर सहयोग गर्ने भन्न सकेका छैनन् ।

निर्णय प्रक्रियामा अपारदर्शिता, गुट, निषेधको, कोठे राजनीति र वराहक्षेत्रको काँग्रेस पछिल्लो समय पर्यायवाची जस्तै बनिरहेका छन् । यस्तो अवस्थामा आउने नेतृत्वको काँधमा निकै जिम्मेवारी रहनेछन् । यहाँका सबै जातजाती, भाषा, धर्म र समुदायलाई पार्टी नेतृत्वमा जोड्दै अझ बलियो र सङ्गठित गर्ने अभिभारा अबको नेतृत्वको पहिलो जिम्मेवारी रहनेछ । वर्षौँदेखि कमजोर सङ्गठन रहेको काँग्रेसलाई अब वराहक्षेत्रमा जुनसुकै निर्वाचन जित्न सक्ने हैसियतको बनाउनु अबको नेतृत्वको अर्को मुख्य जिम्मेवारी रहनेछ । चुस्तु दुरस्त पाटी सङ्गठन निर्माण, युवाहरूको पार्टीमा स्पष्ट भूमिका निर्धारण र जिम्मेवारी हस्तान्तरण, अग्रजहरूको सम्मान, जनमैत्री राजनैतिक क्रियाकलाप सञ्चालन, पार्टीप्रति नगरवासीहरूको आकर्षण वृद्धि, युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पुर्‍याउन सके मात्र वराहक्षेत्र काँग्रेसको भविष्य सफल देखिन्छ । यस सन्दर्भमा नगर सभापतिका उमेदवारहरुको योजना कस्तो छ रु

रत्न बहादुर राउत

हक्की र निडर स्वभाव भएका उम्मेदवार राउत वराहक्षेत्र ८, निवासी हुन् । ०३५ सालबाट नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर नेपाली काँग्रेसको राजनीति सुरु गरेका नेता राउत ०३७ सालमा नेबिसंघको इकाई सभापति भएका थिए । ०४५ देखि शिक्षण पेशा सुरु गरेपछि उनी दुई वर्षपछि शिक्षक सङ्घको क्षेत्रीय प्रतिनिधि समेत भए । १० वर्षे जनयुद्धमा माओवादी भएकै कारण आफू अपहरणमा परेको उनको दाबी छ । उनी भन्छन्, ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका साथीहरूले मलाई झुट्टा आरोप लगाएर यातना दिएका थिए । पछि ०७२ मा नेपाली काँग्रेस तत्कालीन महेन्द्रनगर गा।बि।स।को इकाई सभापति बनेका उनी हाल वराहक्षेत्र नगरपालिकाका सह(संयोजक हुन् । नजिकिँदै गरेको स्थानीय चुनावमा पार्टीको जीत सुनिश्चित गर्ने, युवा, अग्रज तथा समकालीन पुस्तालाई सँगै मिलाएर लैजाने, सङ्गठन विस्तारमा तीव्रता दिने उनको मुख्य योजना रहेको बताइएको छ । शिक्षण पेशा छोडेर राजनीतिमा होमिएको भन्ने उनी नगर सभापति बन्नुपर्ने कार्यकर्ता बताउँछन् ।

नारायण नेपाल

साबिक वराहक्षेत्र गाबिस (हाल वराहक्षेत्र २) निवासी काँग्रेसजनहरुमा प्रिय नाम हो- नारायण नेपाल । गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडालाई जिताएर सफल सभापतिको छवि बनाएका नेपाल समायोजनपछि पुनः नगर सभापति चुनिए । झण्डै २ वर्षिय सभापतीय कार्यकालमा उनले कार्यकर्तालाई गरेको सहयोग, सुस्त सुदृढ सङ्गठन निर्माण, जनभावनाको कद्दर स्वरूपको क्रियाकलापले उनलाई कत्तिको सफल सभापति भन्न मिल्छ रु त्यो सबै कार्यकर्ताले लेखाजोखा राखेका छन् । यद्यपि वराहक्षेत्र १ र २ को पुराना काँग्रेस कार्यकर्ता नेपालको निरन्तरता र पाटीप्रतिको सक्रियताले गर्दा नै साबिक वराहक्षेत्र गा।बि।स।मा काँग्रेसले स्थानीय चुनाव आफ्नो पोल्टोमा पारेको हो । कोरोनाकाल भएकाले आफूले आफ्नो कार्यकालमा खासै उल्लेख्य काम गर्न नसकेकोले अधुरो काम पूरा गर्नको लागि उम्मेदवारी दिएको उनी बताउँछन् । पार्टीप्रतिको आस्था र अग्रज नेताको रूपमा परिचित उनको सम्भावना राम्रो रहेको कार्यकर्ताहरूले जिकिर गरेका छन् ।

रमेश कार्की

अहिलेका युवा पुस्ताको मुखमा झुण्डिएको नाम रमेश कार्की हो । सामाजिक कार्यमा अति सक्रिय कार्की सरल, शालिन र भद्र स्वभावका छन् । कोरोनाकलामा वराहक्षेत्र निवासी जनताहरूको घरदैलोमा गएर मास्क, स्यानिटाइजर र स्वास्थ्य सामाग्री वितरण गर्नमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अन्य दुईभन्दा कम उमेरका युवा उम्मेदवार भनिएका कार्की ७ नम्बर वार्ड निवासी हुन् । चक्रघट्टी जेसीज लगायत विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका कार्की अहिले काँग्रेसका क्षेत्रीय सचिव हुन् । विषेशगरि युवा पुस्ताको सहभागिता बढाएर पार्टीलाई चलायमान बनाउने उनको योजना रहेको छ । यद्यपि अन्य दुई उमेदवारले संसदीय फाटमा नजाने घोषणा गरिसकेका भए पनि कार्कीले भने यसबारे मुख खोलेका छैनन् । अहिले देशभर नै युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि सर्दै गर्दा वराहक्षेत्रमा पनि धेरैले रमेश कार्कीको सम्भावनाको व्याख्या गर्न थालेका छन् ।