कृषि

तङ्ग्रिँदै पुष्प व्यवसाय, ५० लाखको कारोबार

६ असोज, काठमाडौं । कोभिड–१९ को कारण दैनिकरूपमा रु एक करोडको नोक्सान बेहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने समय हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण दर पनि विस्तारै हट्दै गएकाले यस व्यवसायले गति लिएको हो । विश्वभर फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्रिँदै थालेको छ ।

त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै उक्त व्यवसायले पनि लय समातेको हो । अझै पनि मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने गरेको थियो । कारोना महामारी उच्च बिन्दुमा पुग्दा मुस्किलले रु दुई लाखको मात्र कारोबार भएको थियो ।

हरेक वर्ष रु तीन अर्बको आर्थिक कारोवार गरिरहेको यस व्यवसायले गत आर्थिक वर्षमा कोरोनाका कारण रु एक अर्ब ६५ करोडको मात्र कारोबारमा चित्त बुझाउनुपरेको थियो । अध्यक्ष तामाङले भने, “अहिले पनि केही फूल भारतबाट ल्याइएका छन् महामारी भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि स्थानीय व्यवसायलाई परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सञ्चालन गर्ने व्यवस्था गरिदिनुप¥यो ।”

उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादन नै हो । अहिले फूल उत्पादन र प्रयोग बढी हुने समय हो, कोरोनाका कारण यस वर्ष व्यवसायीले यस क्षेत्रमा लगानी बढाएका छैनन् जसका कारण फूल उत्पादनमा कमी आएको छ । आगामी दिनमा महामारीको त्रास हट्दै जाने हो भने यस व्यवसायमा नयाँ लगानी गर्ने लगानीकर्ता थपिने थिए ।

व्यवसायी अन्य पेशामा पलायन

पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको एसोसिएसनले बताएको छ । कोरोनाका कारण लामो समयसम्म यस पेशामा कारोबार नहुँदा बजार लान तयार भएका धेरै फूल नष्ट गरी व्यसायी अन्य पेशामा पलायन भएका हुन् ।

विगत १० वर्षदेखि नैकापमा नानीमाया तामाङले पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनका अनुसार महामारीअघि वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गथ्र्यो तर अहिले आम्दानी शून्य छ । “व्यवसाय निरन्तरताको कुरो धेरै परको हो, दैनिकी चलाउन पनि अन्य विकल्प खोज्नुपरेको छ ।”

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई/तीन अर्ब फूलको कारोवार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसायी शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीका कारण अहिले भने सङ्कटमा परेको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।