खेलकुद

नेपालद्वारा ओमनलाई १९७ रनको चुनौती

२९ भदौ, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि १९७ रनको लक्ष्य दिएको छ ।
युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले ओमनलाई जितको लागि १९७ रनको सामान्य लक्ष्य दिएको हो । ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा समेटियो ।
नेपालका लागि आसिफले ११२ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफबाहेक अन्य खेलाडीले खासै राम्रो खेल प्रदर्शन गर्न सकेनन् । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिए ।
कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले सात तथा विनोद भण्डारीले छ रन बनाए । यस्तै कुशल मल्लले चार, बिक्रम सोबले दुई, करण केसीले २१ रन बनाए भने सुसन भारी दुई रनमा अविजित रहे । नेपालले सात रन अतिरिक्त प्राप्त गरेको थियो ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा एक मेडनसहित ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक÷एक विकेट लिए ।