पु.समाचार

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

काठमाडौ, २९ भदौ : “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने, “सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।”

बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उनले बालबालिकालाई भने, “व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।” उनले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरे ।

बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उनले जोडे, “बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।”

राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले सङ्घ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गराए । साथै बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेकोसमेत उनको भनाइ थियो ।

बालबालिकाको संरक्षण गर्नका लागि कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि सरकारले पहल गरिरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रममा बालबालिका प्रतिष्ठानको अवधारणा अघि सारिएको बताए । बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणजस्ता कुरामा ध्यान दिएको छ भने । सो अवसरमा राष्ट्रपति भण्डारीले चित्रकला, बालगीत, कविता र नृत्य प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले देश सङ्घीयतामा प्रवेश गरेसँगै बालबालिकालाई स्थानीय तहबाटै संरक्षण गर्नुपर्ने गरी काम भइरहेको बताए । “बालबालिकाको संरक्षणका लागि सरकारले प्रयास गरिरहेको छ”, उनले भने, “यो वर्ष तीन हजार हराएका बालबालिका फेला पारी परिवारको सम्पर्कमा बुझाइएको छ ।”

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्यायले अभिभावकविहीन बालबालिकालाई संरक्षण दिने र शिक्षा दिने व्यवस्था गरिरहेको जानकारी दिए। “नेपाल बाल सङ्गठनको देशभर भएका भौतिक सम्पत्तिको संरक्षण हुन सकेको छैन”, अध्यक्ष उपाध्यायले भने, “भौतिक सम्पत्तिको राम्ररी संरक्षण भए बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने थियो ।” उहाँले बालमन्दिरका बालबालिकाको हेरचाहका लागि सरकारले बजेटसमेत बढाइदिनु आग्रह गरे ।

नेपालमा कुल जनसङ्ख्याको एक तिहाइ बालबालिका रहेका छन् । तीमध्ये १८ वर्षमुनिका बालबालिका एक करोड १५ लाख (४१.८ प्रतिशत) छन् । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपाल सरकारले सन् १९९० सेप्तेम्बर १४ अर्थात विसं २०४७ भदौ १२ गते अनुमोदन गरेको थियो । यस वर्षको बाल दिवसको नारा ‘सामान्य अवस्थामा वा कोभिड माहामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने रहेको छ ।

नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकमा राखेको छ । मौलिक हकको धारा ३९ मा बालबालिकासम्बन्धी हकको व्यवस्था गरेको छ । उक्त हकअन्तर्गत प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनी व्यवस्था गरेको छ ।

त्यस्तै, प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने भनी व्यवस्था गरेको छ । प्रत्येक बालबालिकालाई बाल अनुकूलन न्यायको हक हुने र कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी संविधानले व्यवस्था गरेको छ ।

बालबालिकाको संरक्षण र समग्र विकासका लागि कानूनी व्यवस्था राम्रो भए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्दा अहिले पनि बालबालिका आफूले पाउने हकबाट वञ्चित भएका छन् ।