पत्रपत्रिका

वडाबाटै यसरी हुन्छ गुटबन्दी, महत्वपूर्ण स्थानीय नेताले हार्दा काँग्रेसको भबिश्य कस्तो होला !

२७ भदौ, दाङ । तुलसीपुर उपमहानगरपालिका–११ का डिल्लीबहादुर बस्नेत कांग्रेस क्षेत्रीय प्रतिनिधि उम्मेदवार चुनिए। यो वडामा दुई गुट बनाएर चुनावी अभियानमा होमिएका कांग्रेसीको एउटा गुटको नेतृत्व बस्नेतले गरे। कांग्रेस महासमिति सदस्यसमेत रहेका उनले दुई सय २० मत प्राप्त गरे। यो मत नेपाल तरुण दलका जिल्ला सचिव ध्रुव आचार्यसँग बराबर थियो। बस्नेत र आचार्यको मत बराबर भएपछि गोला प्रथाबाट टुंग्याउने भन्ने छलफल भयो। तर बस्नेतले गणनामै ‘धोका’ भएको भन्दै पुनः गणना हुनुपर्ने माग गरे। पुनः भएको गणनामा बस्नेत पराजित भए। ‘पुनः गणना गर्दा उहाँको एक मत कम आयो, फलतः उहाँ पराजित हुनुभयो,’ यसै वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भएका सुवास डाँगीले भने।

जिल्लाकै अर्का महासमिति सदस्य टेकबहादुर डाँगी पनि घोराही उपमहानगरपालिका–११ मा क्षेत्रीय प्रतिनिधि उम्मेदवार बने। ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने यो वडामा उम्मेदवार भने १४ जना थिए। तर डाँगी अटाउन सकेनन्। उनी सातौं नम्बरमा रहँदै क्षेत्रीय प्रतिनिधिमा पराजित बने। ‘थोरै मतको मतान्तरले उहाँ पराजित बन्न पुग्नुभयो,’ यो वडाका नवनिर्वाचित सभापति दामु ऐरीले भने, ‘निर्वाचत हुनुपर्ने ६ जनाभित्र उहाँ पर्न सक्नुभएन।’

कांग्रेसको दुई महासमिति सदस्यसँगै कुमोद शर्मा मजगैयाँ वडामै हार व्यहोरेका अर्का ठूला जिल्ला नेता हुन्। कांग्रेसका पूर्वजिल्ला सचिव उनी तुलसीपुर उपहानगरपालिका–मा क्षेत्रीय प्रतिनिधिको निर्वाचन लडेका थिए। १० जना क्षेत्रीय प्रतिनिधि आउनुपर्ने यो वडामा उनी १० जनाभित्र परेनन्। यसैगरी साविकको क्षेत्र नम्बर ५ का तत्कालीन क्षेत्रीय सभापति मदन रसिक, जिल्ला सदस्य गोविन्द रेग्मी पनि गुटगत राजनीतिकै कारण वडाबाट माथि उठ्न सकेनन्।

जिल्लामा सम्पन्न कांग्रेसको वडा अधिवेशनले केही ठूलै नेताहरूको नतिजा अप्रत्यासित ल्याइदिएको छ। गुटगत समूह बनाएर उम्मेदवारी पेश गरेका हरेक वडाको कांग्रेसको निर्वाचनले कांग्रेसीमा ‘तुष’ बिजारोपण भएको छ। ठूला नेताहरूको यो हारले कांग्रेसी आपसमै प्रतिशोध जन्माइदिएको छ। फलतः लगत्तै आउन थालेको स्थानीय निर्वाचनलाई कांग्रेसीमा पलाएको तुषले प्रभाव पार्ने देखिन्छ। जिल्लाको घोराही उपमहानगरपालिका–५ को वडा अधिवेशनले अझ कार्यकर्तामा व्याप्त तुष मौलाएको पुष्टि नै गर्छ।

यो वडामा दुई गुटबाट उम्मेदवार चुनिए। वडा तहमा प्रभाव राख्ने नेताको छुट्टाछुट्टै गुटको प्रतिस्पर्धा बनेको यो वडामा एउटा गुटले एकलौटी जित निकाल्यो भने अर्को गुट शून्यकै अवस्थामा पुग्यो। फलतः फरक गुटका ठूला नेता वडामै पछारिए। गुटगत प्रतिस्पर्धाको सिकार भएका एक नेता हुन् लोकतान्त्रिक आन्दोलनका ‘जिउँदा सहिद’ कृष्ण गिरी। उनी क्षेत्रीय प्रतिनिधिमा पराजित बने। लोकतान्त्रिक आन्दोलनका क्रममा गोली लागेका उनलाई समेत हराइएको भन्दै जिल्ला तहका नेताहरूबाटै चरम आलोचना भएको छ। कतिपयले त ‘अब देखाइदिने’ भन्दै उनको पक्षमा रहेर अर्को पक्षलाई चुनौती नै दिएका छन्। ‘लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते भएका जिउँदा सहिद जस्तो मान्छेलाई गुटगत राजनीतिका आधारमा हराइनु किमार्थ राम्रो हैन,’ एक नेताले भने, ‘यसको प्रभाव अब राम्रो पर्नेछैन, बुझ्नुपर्ने कुरा स्थानीय तहको चुनावलगत्तै आउँदैछ।’

कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका पूर्वकेन्द्रीय उपाध्यक्ष खड्गबहादुर विश्वकर्मा पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भए। उनी पनि गिरी समूहमै थिए। यसैगरी जिल्ला समन्वय समितिका सदस्य लोका विश्वकर्मा पनि पराजित भइन्। ‘गुटगत राजनीतिले चुनाव जित्नैपर्ने केही नेताहरू पराजित बन्न पुगे,’ वडाका एक कांग्रेस नेताले भने, ‘पार्टीको अधिवेशनमा यति ठूलो रिस देखाउनु राम्रो भएन, न त वडाको अधिवेशनले जन्माएको यो तुष स्थानीय तहको चुनावसम्म मेटिने संकेत नै देखिन्छ।’

वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरूका लागि वडा अधिवेशन सुखद बन्न पुगेन। केही नेताहरू त चुनावी प्रतिस्पर्धाबाटै पछि हट्नुप¥यो। बिजुल विश्वकर्मा पूर्वसांसद हुन्। दलित आयोगको अध्यक्ष तथा द्वन्द्वकालका बेपत्ता छानबिनसम्बन्धी आयोगको सदस्यसमेत रहेका उनी पार्टीको क्षेत्रीय कमिटिमा आउन चाहन्थे। फलतः उनी तुलसीपुर उपमहानगरपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिको दाबेदार बने। दलित कोटाबाट एकजना चुनिने क्षेत्रीय प्रतिनिधिमा चयन हुन खोजेका उनी सर्वसम्मत बन्न चाहन्थे। तर प्रतिस्पर्धीले उनका लागि बाटो छोडिदिएनन्। फलतः चुनावी परिणाम आफ्नो पक्षमा नपर्ने आंकलन गरे र क्षेत्रीय प्रतिनिधि बन्ने दौडबाटै बाहिरिए। ‘उहाँ धेरैजसो बाहिरै बस्नुभयो, वडामा भिज्नुभएको नेता होइन, फलतः उहाँका लागि चुनाव लडेको भए झनै घातक बन्नसक्ने सम्भावना थियो,’ एक नेताले भने ‘यही आंकलन गरेरै उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो।’

जिल्लाका कुल एक सय वटा वडामध्ये ६० वडामा सर्वसम्मत भयो। बाँकी ४० वटा वडामा मतदान भएको छ। मतदान भएका वडामा गुटगत समूहबीच प्रतिस्पर्धा भयो। वडा तहमा देखिएको यी गुटगत समूहले आगामी स्थानीय चुनावलाई प्रभाव पार्ने खतरा कांग्रेससामु छ। पार्टीको अधिवेशनमा देखिएको ‘एकले अर्कोलाई सिध्याउने’ रणनीतिले पराजित समूहलाई चिढ्याएको छ। फलत ः स्थानीय तहमा यसको साटो फेर्ने रणनीति पुनः कांग्रेस कित्तामा देखिने सम्भावना कांग्रेसका नेताहरूले देखिसकेका छन्। ‘अहिले जसरी एकले अर्कोलाई सिध्याउने रणनीतिका कारण चुनाव हारिएको भन्ने महसुस भयो, यो बुझाइ आगामी चुनावका लागि घातक हो,’ जिल्लाका एक नेताले भने ‘आगामी चुनावसम्म यो बुझाइलाई कांग्रेसले निस्तेज पार्न नितान्त जरुरी छ।’

तर शक्ति प्रयोग गरेरै हराएको भन्ने चिन्तन ठिक नहुने भन्दै ती नेताले हारको कारण आफ्नो व्यक्तिगत प्रभावलाई प्रमुख मान्नुपर्ने बताउँछन्। ‘म कार्यकर्तासामु प्रिय छैन भने त मलाई मत आउँदैन नि,’ उनले भने, ‘हारको प्रमुख कारण भनेकै आफ्नो कमजोर व्यक्तिगत प्रभावनै हो, यसर्थ पराजयको दोष अर्कैलाई थप्नु राम्रो होइन।’ नागरिक दैनिकमा समाचार छ