लुम्बिनी

आलोपालोमा शिक्षण सहजीकरण

२६ भदौ, पाल्पा । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कक्षा १, ३, ३, ७, ९, ११ र २, ४, ६, ८, १०, १२ बार अनुसार कक्षा सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए । स्थानीय तहमा कोरोना भाइर सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै साताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली बारअनुसार कक्षा सञ्चालन गर्न थालिएको हो ।

पाल्पाको माथागढी गाउँपालिकाले भदौ २८ गतेबाट भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी कारण विद्यालय बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गरिए पनि समस्या देखिएको थियो । गाउँपालिकाभित्र पाँचजना मात्र कोरोनाको सक्रिय सङ्क्रमित रहेपछि गाउँपालिकाले स्मार्ट लकडाउनअनुसार नै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । उनका अनुसार डीसीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको बैठकको निर्णयबमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रुपमा पालना गर्ने गरी विद्यालय खोलिने भएका छन् । कोरोना भाइस सङ्क्रमण देखिएको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थी विद्यालयमा उपस्थिति नहुने र स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

पाल्पाको रम्भा, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । रम्भा गाउँपालिकाले आइतबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कम विद्यार्थीहरु हुने विद्यालयमा आइतबारदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा आलोपालोमा कक्षा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताए । कक्षा सञ्चालन हुनुभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गराउन शिक्षकबाट कार्यान्वयन गराउने अध्यक्षको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा कोरोना सङ्क्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्ने सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य मापदण्डको पूर्ण सतर्कता र सजगताका अवलम्बन गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताए । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रुपमा कक्षा सञ्चालन गर्ने तयारी भएको उनले बताए ।

रामपुर–१० स्थित जनकल्याण उच्च माविका शिक्षक दामोदर तिमिल्सिनाले पठनपाठन सञ्चालनका लागि नगरपालिकाबाट निर्देशन आएको छ भने । स्वास्थ्य मापदण्डको पालना गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । यसअघि बिहान, दिउँसो र साँझमा पालैपालो पढाउने गरिएमा अबदेखि नियमितरुपमा पठनपाठन गरिने तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोल्ने तयारी अन्तिम चरण पुगेका छन् । जिल्लाका अधिकांश सरकारी विद्यालय खोल्ने तयारी भइरहे पनि संस्थागत विद्यालयले अनलाइन माध्यमबाट परीक्षासमेत सकेका छन् ।
परीक्षा सम्पन्न गरी हालसम्मको महिनावारी शिक्षण शुल्कसमेत उठाएको अभिभावकको गुनोसो छ । विद्यालय खोलिन थालेपछि विद्यार्थीमा उत्साहसँगै कोरोना सङ्क्रमणको त्रासले निराशा पनि थोपारिएको छ ।