प्रदेश 1

मापदण्डविपरीतका लाभग्राहीको नाम हटाइयो

२४ भदौ, खोटागं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा नं ११ खार्मीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खर तथा फुसका छानामुक्त घर कार्यक्रमका लागि लाभग्राही छनोटमा भएको त्रुटि सच्याइएको छ । लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएको, बसाइँ सरेर अन्यत्र गइसकेका व्यक्ति, अर्काको घरको तस्वीर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि नगरपालिकाले त्रुटि सच्याएको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाइँ सरिसकेका, अर्काको घरको तस्वीर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको सार्वजनिक भएको थियो । पाथेकामा हुँदै नभएका खइबहादुर राईको ठाउँमा एकल महिला तुलसकुमारी राईलाई, अन्यत्र बसाइँ सरिसकेका तुलसी गिरीको सट्टा एकल महिला बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष मुगाधन राईले जानकारी दिए ।
यस्तै पाथेकाकै नीरकुमार राईको नाम लाभग्राहीको सूचीमा दोहोरो परेपछि त्यस ठाउँमा एकल महिला इन्द्रकुमारी विश्वकर्माको नाम पनि थप गरिएको छ । नगरपालिकाले नक्कली लाभग्राहीको नाम हटाएर वास्तविक लाभग्राहीलाई सूचीमा राखेपछि उनीहरुले सम्झौता गरेर काठपात जुटाउन सुरु गरिसकेका छन् ।
सोही वडामा अरुको घरको तस्वीर पेश गरेर लाभग्राहीको सूचीमा राखिएका दिनेश राईको नाम हटाइएको छ । खर तथा फुसको छाना हटाउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।
यस्तै खार्मीमा हुँदै नभएको ललितबहादुर श्रेष्ठको ठाउँमा नीरकुमारी भुजेललाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । जिल्ला समन्वय समितिले उक्त कार्यक्रमका लागि खार्मीमा २९ जनाको कोटा निर्धारण गरेको थियो । सो सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएर आएपछि वडाले सच्याएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा गत वर्ष दुई हजार ३८८ घर लाभग्राहीका लागि उक्त कार्यक्रमअन्तर्गत जस्तापाता खरिद गर्न प्रतिघर रु ५० हजारका दरले रकम आएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढीका ३४८ घर स्थानीय बासिन्दाका लागि परेका थिए ।