पु.समाचार

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ्छौः अध्यक्ष नेपाल

२४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन् ।
उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेका एमसीसीका उपाध्यक्ष फतिमा सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताएका थिए ।

भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराएका थिए ।
उनले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका बीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताएका थिए । एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गरेको नेता तुलाधरले जानकारी दिए । तत्कालिन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गरेको नेता तुलाधारले जानकारी दिए ।