आर्थिक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

२४ भदौ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०.६, जलविद्युत् ६२.७५, जीवन बीमा ५९.३८ र लगानी ०.१७ विन्दुले बढेको छ ।
बैंकिङ २.१७, होटल तथा पर्यटन ३.३१, विकास बैंक १२.०१, वित्त ३६.४३, निर्जीवन बीमा ६.३५, उत्पादन २१.७२, अन्य २२.५१, लघुवित्त १७.८८ र सामूहिक लगानी कोष ०.१६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर रु ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी रु ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर रु १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।
कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो । यस्तै रैराङ हाइड्रोपावर ९.२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७.४१ प्रतिशतले कमाए ।
यसैगरी रिडी हाइड्रोपावर ५.२६, सिटिजन म्युचुअल फण्ड ५.१३, आइसिएफसी फाइनान्स ४.०२, सपोर्ट माइक्रोफाइनान्स २.९४ र युनिलिभर नेपालका शेयरधनीले २.८४ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ ।