स्वास्थ्य

एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः दुई हजार ७२ सङ्क्रमणमुक्त

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.७ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा सक्रिय सङ्क्रमित ३० हजार ३०३ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट अहिलेसम्म १० हजार ८७९ को मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।
मुलुकभर हाल ५१४ जना सघन उपचार कक्ष (आइसियु), १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
आज ८० हजार ४०० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् ।