पु.समाचार

प्रधानसेनापति थापाको जङ्गी अड्डाद्वारा बिदाइ

२१ भदौ, काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा आईतबार बिदाइ कार्यक्रम आयोजना गरियो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश हुन लागेका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेका हुन् ।
बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी यही भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दै छन् । समारोहमा प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेना र प्रधानसेनापतिको झण्डा एवं छडी हस्तान्तरण गरे ।
नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सवल, सक्षम र सुदृढ सङ्गठनकारूपमा विकास गर्दै लैजाने सन्दर्भमा उनको दीर्घकालीन सोच, कार्ययोजना र दृढता केही हदसम्म सफल भएको छ ।
निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा सङ्गठनलाई उभ्याउन सामूहिक प्रयास र योगदान हुनुपर्छ भन्नेमा दृढ महारथी थापाले वैयक्तिक सुख–सुविधा, स्वास्थ्य र सुरक्षालाई बिर्सेर सीमानाका, प्रवेश बिन्दु र कोरोना नियन्त्रण प्रतिकार्यका विभिन्न मोर्चामा रही परिणाम देखिने गरी कार्य गर्न सकलदर्जालाई पटकपटक निर्देशन दिए ।
रणनीतिक तथा दीर्घकालीन कार्ययोजना कार्यान्वयन अब्बल नतिजा हासिल गर्न सफल प्रधानसेनापति थापाकै नेतृत्वमा तीन जोड एक सैनिक कमाण्ड कार्यान्वयनमा गइसकेको छ । बिदाइ समारोहमा प्रधानसेनापति थापाले सङ्गठनभित्र अघि सारेको मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अघि बढेको बताए ।
उनले भने, “प्रतिरक्षा ऐन, सैनिक ऐनको मस्यौदा, अप्रेशन कमाण्ड, १६ वर्ष सेवापछि पेन्सन व्यवस्था, दूू्रतमार्ग निर्माणजस्ता कार्यमा मेरो कार्यकालमा महत्वपूूर्ण काम भएका छन् । रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज पौडेलले गौरवमय इतिहास र परम्परा बोकेको नेपाली जनताको अगाधआस्था र विश्वासको केन्द्र बिन्दुका रूपमा रहेको सेनाको ४३औँ प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए ।
बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “वचनअनुसारको कार्य गर्दै समय सीमाको कसीमा खरो उत्रिएर महारथी थापाले पद्धति र प्रणालीमार्फत सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुु¥याउनुुभएको छ ।” तालिमलाई प्राथमिकतामा राखेर सङ्गठनलाई सामूहिक प्रयास र पारदर्शीका आधारमा अघि बढाइने छ ।
बिदाइ समारोहमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिका साथै सुरक्षा फौजका उच्चपदस्थ अधिकारी सहभागी थिए ।