अन्तर्राष्ट्रिय

पाकिस्तानको कोभिड–१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

१९ भदौ, इस्लामादः पाकिस्तानमा कोरोनभाइरस सङ्क्रमण दर लगातार चौथो दिन छ प्रतिशतभन्दा माथि रहेको भन्दै अधिकारीहरूले सङ्क्रमण दर नियन्त्रणका लागि सबै क्षेत्रले सचेत पहल लिनु आवश्यक रहेको बताएका छन् ।
पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
हाल पाकिस्तानको औसतमा सङ्क्रमण दर ६.२१ प्रतिशत रहेको छ । शनिबारसम्म पाकिस्तानमा ११ लाख ७५ हजार ५५८ कोरोनाभाइरसका बिरामी रहेको जनाइएको छ ।
पाकिस्तानमा गत २४ घण्टामा झण्डै ७९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोभिड–१९ बाट पाकिस्तानमा झण्डै २६ हजार ११४ जनाको मृत्यु भएको छ ।