राजनीति

सरकारले एउटै विदेश नीति अवलम्बन गर्छः सहमहामन्त्री डा महत

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन् । “एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उनले भने ।
उनले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताए । डा महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पारे । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उनको भनाइ छ ।
उनले चीनसँगको सीमा विवादका विषयमा सरकारले अध्ययन समिति बनाएकाले त्यसको निष्कर्ष के आउँछ त्यसैका आधारमा हुने बताए । भारतसँग पनि हालैको महाकालीमा तुइन घटनाका विषयमा सरकारले छानबीन समिति बनाएर नै अनुसन्धान गरेको र त्यसको निष्कर्षका बारेमा नेपाल सरकारले काम गरिरहेको पनि बताए ।
उनले एमसिसीका विषयमा गरिएको एक प्रश्नमा भने कतिपय पक्षमा नागरिकबाट प्रश्नहरु उठिरहेकाले त्यस विषयमा सम्बन्धित निकायले स्पष्ट पार्ने नै छ भने ।
सहमहामन्त्री डा महतले कांग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताए । “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ”, उनले भने । उनले कांग्रेसको महाधिवेशन आउन झण्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताए ।