बाग्मती

निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्यको शालिक निर्माण गर्ने निर्णय

१८ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ ।
विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास बैरागीले स्मारक निर्माणस्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको काम अझै सकिएको छैन । गोकर्णमा राष्ट्रिय सहिद स्मारकसँगै निजामती स्मारक निर्माण भइरहेको छ । असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी दिए ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल सहरी विकास मन्त्रालयमार्फत सञ्चालनमा छ । सहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भए पनि काममा प्रगति हुनसकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।