राजनीति

महाधिवेशनको पुर्वसन्ध्यामा डा कोईरालाको अपीलः प्रारम्भ भएको कांग्रेस महाधिवेशनलाई सफल पारौं

१८ भदौ, काठमाडौं । आज शुरु हुन गईरहेको नेपाली काँग्रेसको वडा महाधिवेशनको सन्दर्भमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशालीनेता डा शेखर कोईरालाले अपील गरेका छन् । उनले अपीलमा भनेका छन्ः

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाद्वारा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सन्दर्भमा जारी गर्नुभएको अपिलस्
प्रिय साथीहरु,
नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको छ । कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरु चयन गर्न गइरहेका छौं । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।
साथीहरु,
कांग्रेसको चौधौं महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ ।
महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।
विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थ्यौं । कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्न । यतिमात्र भन्छु कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सवैको हो, कांग्रेसजनको हो ।
कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ । आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ ।
साथीहरु,
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ । स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ ।
हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ । कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको चौधौं महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।
चौधौं महाधिवेशनमा हामी हाम्रा श्रद्धेय नेताहरु, लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ती शहिदहरु, द्वन्द्व पीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएका साथीहरुको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्ने जिम्मेवारी छ । हाम्रो सामान्य गल्ती र कमजोरीले पनि हामी कांग्रेसको इतिहास प्रति न्याय गर्न सक्दैनौं, भविष्यका पुस्ताको लागि कांग्रेस असान्दर्भिक हुनसक्छ ।
अन्त्यमा,
कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ । पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन । यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि हामी सबै कांग्रेस कार्यकर्ताहरुको हो । अवको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ । मुलुकवासी मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि हाम्रा मित्रराष्ट्रहरुले हामी तर्फ हेर्नेछन ।
राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा हामी सवैको मन जित्न सक्षम हुन सकौं, र अहिले प्रारम्भ भएको कांग्रेसको महाधिवेशनलाई सफल पारौं। जय नेपाल ।
तपाईंको
डा शेखर कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१८ भाद्र २०७८