राजनीति

सभापतिमा हाम्रो समुहको जो भएपनि साझा उम्मेदवार हुन्छः वरिष्ठ नेता पौडेल

ज्ञठ भदो, काठमाडो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताउका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताए ।
महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो ।
वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेले सुनाए । आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उनले बताए ।
संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उनको भनाइ थियो । देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत उनले आग्रह गरे । कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने नेता पौडेलले बताए ।
छलफल गरेर नै सभापतिको उम्मेदवार तय गर्ने र कुनै खटपट नगरी एक भएर अगाडि बढ्ने वरिष्ठ नेता पौडेलले प्रष्ट पारे । सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने उनको भनाइ थियो । अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेको र निष्ठावान् कार्यकर्ता क्रियाशील सदस्यताबाट बञ्चित हुने अवस्था सिर्जना भएको नेता पौडेलले बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै पार्टीका महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा शेखर कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित थिए ।
पत्रकार सम्मेलनमा १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएका गगन थापासमेत उपस्थित थिउ । उनले सोमबार काठमाडौँ महानगरपालिका–३० मा आयोजित कार्यकर्ता भेलामा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिकरुपमा घोषणा गरेका थिए । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।