कृषि

प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ

२० साउन, बिराटनगर । प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए।

निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

त्यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर, धनकुटामा छ हजार ३६० हेक्टर, उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलुढुङ्गामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको बताइएको छ ।

यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताए ।