राजनीति

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन

१८ साउन, काठमाडौं । नेकपा (एमाले) को आईतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ । बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ ।