पु.समाचार

दार्चुला प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

१६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले आज एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताएका छन् ।
“उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्यतथ्य पुष्टि भइनसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्वद्ध सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको वास्तविकता बुझ्न सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी सम्मिलित टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै घटनाको उक्त टोलीबाट जानकारी प्राप्त हुनासाथ त्यसलाई सार्वजनिक गरिने जनाएको छ ।