गण्डकी प्रदेश

मुख्यमन्त्रीद्वारा प्रदेशस्थीत प्रमुखहरुसँग विपद्को अवस्थाबारे जानकारी

१३ साउन, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशभित्रको कोभिड सङ्क्रमण र विपद्को अवस्थाबारे जानकारी लिएका छन् ।
प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षसँग आइतबार र सोमबार जुम बैठकमार्फत उनले खोप व्यवस्थापनका साथै आगामी दिनमा गर्न सकिने कामबारे छलफल गर्नुभएको हो । बाढी पहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनःस्थापनाबारे समेत मुख्यमन्त्री पोखरेलले जानकारी लिए ।
कोरोनाविरुद्धको लडाइँ र विपद्लाई सामना गर्न तीन तहका सरकारबीच समन्वय जरुरी रहेको उनले बताए । अठार वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र कोरोनाविरुद्ध खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले प्रदेशको प्रयासमा नेपाल सरकारबाट नियमितरुपमा खोप प्राप्त भएको बताए ।
प्राप्त खोपलाई जनसङ्ख्याको अनुपातका आधारमा वितरण गरी उमेर समूहका आधारमा खोप लगाइएको र बाँकी खोप प्राथमिकता तोकेर दिइएको पनि उनले बताए । अहिले विभिन्न समूह खोपका लागि माग गर्दै आएको अवस्थामा उमेर समूह नै वैज्ञानिक देखिएकाले त्यसैअनुसार वितरण गर्नुपर्ने उनको भनाइ छ । प्रदेशको भिन्न भौगोलिक संरचना र बर्सातको समयमा विपद् जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसैअनुसारको तयारी गर्न पनि उनले निर्देशन दिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ अनुकरणीय रहेको भन्दै अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने आवश्यकता औँल्याए । प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका एक तिहाइ जनसङ्ख्यालाई खोप उपलब्ध भइसकेको भन्दै बढीभन्दा बढी खोप ल्याउन आफूहरू प्रयासरत रहेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले उमेर समूहअनुसार खोप लगाउन सकेमा प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउन सकिने धारणा राखे । जिल्लाको माग र जनसङ्ख्याको अनुपातका आधारमा खोप पठाइएको भन्दै उनले दुर्गमका जिल्ला र पालिकामा हेलिकोप्टमार्फत पनि खोप पु¥याइएको जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशक डा खिमबहादुर खड्काले अब ४५ देखि ४९ वर्ष उमेर समूहको पालो आउने बताए । पछिल्ला दिनमा सङ्क्रमणको दर बढेको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे । उनका अनुसार कास्कीको पोखरा, नवलपुरको कावासोती, देवचुली, स्याङ्जाको पुतलीबजार, चापाकोट, फेदीखोला, गोरखाको पालुङटारलगायत स्थानमा सङ्क्रमण दर बढेको छ ।
कार्यक्रममा सहभागी प्रजिअहरूले अहिले कोभिडको सङ्क्रमण बढे पनि अस्पतालमा जानेको सङ्ख्या कम रहेको र अधिकांश होम आइसोलेसनमै रहेको जानकारी दिए । कोरोना महामारीसँगै बाढी पहिरोको प्रकोप पनि उस्तै रहेकाले पुनःस्थापनाका लागि प्रदेश सरकारले पहल गरी दिनुपर्नेमा उनीहरूको जोड छ । अस्थायीरुपमा बनाइएका कच्ची सडकमा बाढी पहिरोको प्रभाव धेरै रहेकाले मर्मतसम्भार कसले गर्ने भन्ने दुविधा रहेको प्रजिअहरूको भनाइ छ ।