प्रवास

नेपाल–अमेरिका पत्रकार सङ्घको नयाँ कार्यसमितिमा न्यौपाने

१द्द साउन, वासिंंटन डिसी । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)को अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित हुनुभएको छ । अमेरिकाको भर्जिनियामा शनिबार र आइतबार आयोजित सातौँ अधिवेशन तथा १४ औँ साधारणसभाले न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । न्यौपानेका निकटम प्रतिद्वन्द्वी गोकुल ढकाल रहेका थिए ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे रहेका छन् । यसैगरी क्षेत्रीय संयोजकमा लीलादेवी ओझा, शिव नेपाल, गोकुल श्रेष्ठ र सुजन पण्डितलाई चयन गरिएको छ । सदस्यहरूमा सङ्गम बानियाँ, बाबुराम दाहाल, ज्ञानप्रसाद शर्मा र अनिल अधिकारी रहेका छन् । निर्वाचन सम्पन्न गर्न पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको संयोजकत्वमा पूर्वअध्यक्ष भोला आचार्य, शैलेश पोखरेल र नारायण सापकोटासहितको निर्वाचन समिति गठन भएको थियो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गरेको अधिवेशनमा अमेरिकाभरिबाट ८१ पत्रकारको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले निर्वाचित भएपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “हामी अमेरिकाभरि छरिएर रहेका सञ्चारकर्मीहरुको डाटा सङ्कलन, अनुभव आदान प्रदान र पत्रकार लेखनवृत्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ । साधारणसभाले नेजा कार्यसमितिले विगतमा गरेका कार्यसम्पादनको अभिलेखीकरण गर्न वरिष्ठ पत्रकार तारा बरालको संयोजकत्वमा लेखनाथ भण्डारी र मधुकर अधिकारी सदस्य रहेको एक समितिसमेत गठन गरेको छ ।