पु.समाचार

सुजिता मृत्यु प्रकरणः एकजना पक्राउ

८ साउन, चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् ।
जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।
प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन ।
पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिए।
असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।