पु.समाचार

थप दुई हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३२ को मृत्यु

४ साउन, काठमाडौं । नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ ।

थप सात हजार ८३३ जनाको पिसीआर परीक्षण तथा तीन हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसीआर विधिबाट एक हजार ६४२ तथा एन्टिजेनबाट ८०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ४७४ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ३२ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ ।