बाग्मती

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण

२७ असार, ललितपुर । देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००/१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।

कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले औषधीय गुणले युक्त वनस्पति गुर्जोका बारेमा स्थानीयवासीलाई जानकारी गराएका थिए । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जोबाट बनेका परिकारको नियमितरूपमा मात्रा मिलाएर सेवन गरेमा कोरोनाजस्ता भाइरसले आक्रमण नगर्ने जनाइएको छ ।

कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधिको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाइ छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउछन् ।