विचार/ब्लग

काँग्रेस १४ औं माहाधिवेशनः युवा नेतृत्व भविष्यका सम्वाहक र वर्तमानका गति हुन्

प्रकाश तिरुवा/ लोकतान्त्रिक पार्टीका लागि नेतृत्व परिवर्तन एउटा उत्सव हो। नेतृत्व परिवर्तनसँग पार्टीको आन्तरिक जिवन्तता र भविष्यसँग जोडोएको हुन्छ भने बाह्य रुपमा जनताका सामु सार्थक उपस्थिति साथै मुलुकको समुन्नति जोडिएको हुन्छ। नेपालको एक मात्र पुरानो संसदीय राजनीतिको मुलधारको पार्टी भएकाले यसको आसन्न महाधिवेशनका सम्बन्धमा चासो हुनु स्वाभाविक नै हो। अझ यो विशेष परिस्थितिमा नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ त्यसैले पनि आम सर्वसाधारणले कांग्रेसको आगामी नेतृत्वका सम्बन्धमा चासो राख्नु एउटा लोकतान्त्रिक पार्टीका लागि सुखद कुरा नै हो।
१४ औं महाधिवेशनको मिति तय भएसँगै राजनितीक वृतमा पार्टी नेतृत्व परिवर्तनको बहस अहिले काँग्रेसका विभिन्न तहमा चलिरहेको छ । देउवा र पौडेलको पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जोडतोडले उठिरहेको छ । जुन विषय कांग्रेसको १३ औं महाधिवेशनमा पनि उठेको थियो । अहिले पुनस्सोहि विषय कांग्रेसको आन्तरीक राजनितिको मुख्य विषय बनेको छ । नेताहरु विभिन्न समुह र ठाउँमा आन्तरिक छलफलमा ब्यस्त छन् । कोरोना माहामारीको यो समयमा पनि नेताहरु विभिन्न माध्यमबाट आगामी महाधिवेशनमा नेतृत्वका विभिन्न तहमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसैबिच कांग्रेसका युवा नेताहरुले पनि अब युवा एक ठाउँमा आउनुपर्छ भनेर एउटा नेतृत्व परिवर्तनको मुद्धालाई मुलबुत रुपमा उठाउने भनेर सामुहिक प्रतिबद्धता जाएर गरेका थिए । जसमा गगन थापा, बद्री पाण्डे, धनराज गुरुङ, जिवन परियार, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामहरि खतिवडा लगायतका युवा पुस्ताका नेताहरुको संलग्नता थियो । उनिहरूको सामुहिक प्रतिबद्धताको मुख्य विषय नै युवा नेतृको थियो । जुन १३ औँ महाधिवेशन ताका पनि उठेको थियो तर कार्यान्वयन हुन सकेन । त्यसपछि २०७४ को आम निर्वाचनमा पार्टीले लजास्पद हार सामाना गरेपछि वर्तमानमा नेतृत्वको बढि आलोचना भएको थियो जसको नेतृत्व गगन थापाले नै गरेका थिए । अग्रिम महाधिवेशनको माग राखेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने अभियानको नेतृत्व पनि थापाले नै गरेका थिए । पछि केहि युवाहरुको समुहले लिखित रुपमा नै नेतृत्व प्रति असहमति जनाएका थिए यि सबै कुराको संकेत नै युवा नेतृत्वको थियो भन्दा फरक नपर्ला ।
नेपाल र दक्षिण एसियाली युवाहरु सिर्जनशिल र उर्जावान हुन्छन् । ति विदेशमा नि श्रम गर्छन् । तिनका कर्म योग्यता र कार्य दक्षता अनुसार विविध हुन्छन् । धेरै युवाहरू गतिशिल छन् । नेपालको ११ औं जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४० प्रतिशत भन्दा अलि बढि युवाको जनसंख्या छ जुन अहिले केहि परिवर्तन भएको होला । नेपालको राजनितिलाई युग सापेक्ष अगाडि बढाउने काम कसैले गर्छ भने त्यो युवाबाट मात्र सम्भव छ । युवा भविष्यका सम्वाहक र वर्तमानका गति हुन् । युवाको परिचालन नै समृद्धिको मार्ग तए गर्ने आधारशिला हो । तर वर्तमान पुस्ता त्यति सहजै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छैन । अझ कांग्रेसमा त यो कुरा सम्भव प्राय देखिदैन । किनकि वर्तमान नेतृत्व नै अहिलेसम्म नेतृत्वको दाबेदारीमा देखिन्छ । वर्तमान सभापति देउवा पुन एक कार्यकाल सभापति दोहोरिने सोचमा छन् भने १३ औं महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी पौडेल देखि सशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधि, कल्याण गुरुङ, सुजता कोइराला, शेखर कोइराला लगायतकाले सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् । यि मध्ये गुरुङ एक मात्र युवा पुस्ताका नेता हुन् । जसले सधैं पार्टी भित्र र बाहिर सवल कांग्रेसको आवाज बुलन्द गरेको पाइन्छ । वर्तमान पुस्ताको तर्फबाट सायत यदि ठुलो रिक्स मोल्ने शक्ति कसैमा छ भने त्यो कल्याणमा देखिन्छ । उनि रिक्स लिन तयार भएको कुरा उनको उम्मेदवारी घोषणाले प्रमाणित गरेको छ।
यसरि उम्मेदवारीमा पहिलो पुस्ताको दावेदारी देख्दा दोस्रो पुस्ता नेतृत्वको प्रमुख पदमा आशा गर्ने ठाउँ छैन । त्यसैले यसै पटक युवा नेतृत्व सभापतिमा आउने सम्भावना कम देखिन्छ । पार्टी बडो निर्दयी हुन्छ । समाजको चाहाना, आवश्यकता र भविष्यसँग कुनै सम्बन्ध हुदैन । अझ कांग्रेस त विरासत र वरिष्ठतामा विश्वास गर्दछ । कांग्रेसमा एजेण्डा, विचार र कार्यक्रम भन्दा गुट, उपगुट, परिवारवाद र विरासत साथ साथै गिरोहले काम गर्छ । त्यहिँबाट जितेर आउनु दोस्रो पुस्ताका नेतालाई गारो छ । जबसम्म पहिलो पुस्ता स्वइच्छाले आफ्नो दावेदारी छाड्दैन तवसम्म युवा वा दोस्रो पुस्ता नेतृत्वमा आउँने सम्भावना भिमकाय छ। वर्तमानलाई नियाल्दा दोस्रो पुस्ता वा युवाले उम्मेदवारी घोषणा मात्र गर्ने साहासले युवाहरु परिवर्तनका लागि तयार छन् भन्ने हो। तर एकाध युवाहरुले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेता पनि कांग्रेसमा अधिकांश युवा जमात पदलुप्ता र आफु सधै सत्ता र शक्तिको कारिन्दा बन्न विभिन्न गुट, उपगुटमा आशादित छन्।
दोस्रो पुस्तामा नेतृत्व परिवर्तनमा युवा हुनुपर्छ र अझ पहिलो पुस्ताको अभिभावकीय भुमिका रहनुपर्छ भन्ने चेत जवसम्म विकसित हुदैन तबसम्म कांग्रेस आन्तरिक पार्टी सुदृष्ढिकरणमा रुमलिन्छ। पहिलो पुस्ताले नेतृत्वमा पुन दावेदारीले झन युवा वा दोस्रो पुस्ता पुन पहिलो पुस्तालाई स्वीकार्न तयार छन् भन्ने कुराको आभास दिलाउँछ जुन यो कांग्रेस पार्टीका लागि नि दुःखद कुरा हो। आम सर्वसाधरण र कार्यकर्ता पंक्तिमा वर्तमान नेतृत्वबाट सवल कांग्रेस निमार्णको सम्भावना छैन भन्ने धारभा समय-समयमा एधाकधा सुन्निन्छ। यि विचार वा धारणालाई आधार मान्ने हो भनेनि वर्तमान नेतृत्वमा भएका र पहिलो पुस्ताका नेताहरुले नेतृत्वमा दावेदारी छोडेर एउटा अभिभावकको भुमिका निभाउने सम्भावना न्युन छ।
वर्तमान पार्टी सभापतिले नै पुन नेतृत्वमा दोहोरिने कुरा गर्दा यो विषय झन पेचिलो बनेको छ । सामान्य पारिवारिक पृष्ठभूमिबाट कांग्रेसको राजनितिमा होमिएका देउवाले दुई दशक देखि नै आफ्नो गुट ‘इन्टयाक्ट’ राखेका छन् । उनको पार्टीमा लामो संघर्ष छ तर उनि टेस्ट हुन् । तै पनि पार्टीको नेटवर्किङ प्रणालीमा उनि एक्लैको ४० प्रतिशत भन्दा बढि पकड छ जुन भंग गर्ने वा नगर्ने हात महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधिमा निहित छ । तर निधी स्वयंम सभापतिका लागि लभिङमा छन् जसले गर्दा देउवालाई केही सक्स छ। निधीको पनि पार्टीमा त्याग र लगानी कोही भन्दा कम छैन। अझ भन्दा विविधता र पहाडीया चिन्तनबाट मुक्त हुनपनि एकपटक नेतृत्वका लागि निधी नेतृत्व तहमा हुनुपर्ने थियो। तर कांग्रेस पार्टीमा मुलत चिन्तन मनमनमा एकल निर्णय वा पहाडी खस-आर्य मात्र नेतृत्वमा हुनुपर्छ भन्ने चिन्तन बोकेको जमात ठुलो छ जुन कुरा निधी स्वयंम लाई अवगत छ। तर वर्तमान संविधान र पार्टीको विधानले परिकल्पना गरेको समाजवादउन्मुख पार्टी निमार्णका लागि पनि उत्पीडित वर्ग, समुदाय कांग्रेसको मुल नेतृत्वमा आउँदा पार्टीलाई थप मजबुत बन्न टेवा पुग्छ जुन कुरा बोध छैन। कांग्रेसका लागि निधी एउटा भोट ब्याङ्क र नेतृत्वमा सबैलाई समान अवसर छ भनेर उदाहरणार्थ पेस गर्न मिल्ने पात्र बन्न सक्थे जुन कुरा कांग्रेसमा भएको कार्यकर्ता पंक्तिले बुझनु पर्थो तसर्थ निधीको पनि नेतृत्वमा आउने सम्भावना यही महाधिवेशनमा न्युन छ तर देउवालाई उनले गरेको दाविले सकस चाँही छ। इतर पक्षका (रामचन्द्र, शसांक, प्रकाशमान, शेखर, सिटौला लगायत) सबै मिल्दा ६० प्रतिशत होल्ड छ । त्यसमा नि सिटौला पक्षको करिब १५ प्रतिशत भएको अनुमान गर्न सकिन्छ । सिटौला पक्षका जनाधार भएका नेता थापा आफैं हुन् । यो अवस्थामा युवा सार्थक हुन्छ हुँदैन यो अहिले भन्न सकिने अवस्था छैन जसका लागि आगामि फागुन ७ गतेसम्म कुर्नुपर्ने हुन्छ ।
पार्टी भित्रको गुट, उपगुट, नेताहरुको सिन्डिकेट र प्रतिनिधिमुलक परम्परागत निर्वाचन प्रणालि छिचोल्दा नेतृत्व समाल्ने भुमिकामा युवा पुस्ता आउन सकस पर्ने देखिन्छ । यति मात्र होइन विपि पुत्र शसांक, निधि पुत्र विमलेन्द्र र सिंह पुत्र प्रकाशमान जो विरासतका उपजका रुपमा कांग्रेसको राजनितिमा व्याजको फाइदामा छन् उनिहरुलाई इन्काउन्टर दिन त्यति सहज छैन । किनकि कांग्रेसमा विचार, चाहाना र पार्टी र देशलाई सवल बनाउन सक्ने नेतृत्व भन्दा वरिष्ठता र विरासतमा विश्वास गरिन्छ ।
नेतृत्व सवल भएमात्र पार्टी सवल हुन्छ । विरासत र वरिष्ठताले भारतीय कांग्रेसको अवस्थामा पार्टीलाई पुर्याउन सक्छ। त्यसैले आगामि कांग्रेसका बिच तमाम चुनौतिका पहाड छन् । एकातिर नेकपाको दबदबा छ भने अर्को तिर आन्तरिक शक्ति सन्तुलन जुन कुराको सामना गर्न सक्षम नेतृत्व आवश्यक छ । अहिलेको जटिल परिस्थितिमा भविष्यका निम्ति आशावादी हुने केहि ठाउँ छन् कि भनि खोज्दा एउटा आशादित क्षेत्र हो युवा जगत । तर युवा नेतृत्व उमेरले मात्र होइन । नयाँ सोच, सँस्कृति र मुल्यमान्यता बोकेर आउने जुनसुकै उमेरको नेता भएनि त्यो युवा हुन सक्छ । तर, त्यसरी कोहि अगाडि आउन सक्ने ढोका पनि नेतृत्व हस्तान्तरणमार्फत नै खुल्ने गर्छ । यो कुरा सधैं अनुत्तरित छ नेतृत्वका लागि उमेद्वारी घोषणा गर्न तम्सिएका कसैसँग पनि पार्टीको खस्कदो सागलाई पुनर्जीवन दिने नत ठोस योजना नै छ नत कुनै कार्यक्रम, छ त केवल कुनै गुटको सहायता एकले अर्कालाई हराउने र नेतृत्वमा आउने । यो अवस्था वर्तमान सभापति देखि नेतृत्वका आकांक्षी सबैमा बिधमान् छ । तसर्थ सवल कांग्रेसका लागि हामीलाई वास्तवमा राजनीतिमा नेतृत्वको अभाव खड्किएको छ ।
नेतृत्व तहमा युवा किन के लागि यो कुराको कांग्रेस जनमा बोध हुन सकेको छैन। यसका पछाडी म स्वयम् युवा नै दोषि देख्छु। युवा दोस्रो पुस्ता किन दोषी छ भने उनीहरु कहिले पनि नेतृत्वलाई सवल पार्टी वनाउन दबाव दिदैन् बरु आफैं गुटगत बचाउ र गुट निर्माणमा तत्लिन छन्। उदाहरणार्थ नेविसंघ र युवासंघको जिवनतताका लागि कोही युवाले सवाल जवाफ गरेको देखिदैन। युवा परिवर्तनका संवाहक हुन् जुन इतिहासले स्विकारेको छ। युवा शक्ति हो जुन प्रमाणित तैपनि युवा जमात आफुमा भएको युवा शक्ति आफु पद र सत्ताको कारिन्दा बन्न चाँहदैनन् भने यो भविष्य माथिको बैमानी हो। राजनीति के हो र राजनीतिक उदेश्य क होरु भन्ने बारेमा बारम्बार युवाहरुका मत विभाजन हुनुले विविधता भएको महसुस हुन्छ। राजनीति भनेको साम्यवाद, समाजवाद, पुँजीवाद, गान्धीवाद, मण्डलावाद, मोदीवाद, देउवावाद आदिको प्रयोग होइन। मुलभूत रुपमा राजनीतिको उदेश्य भनेको त समाज वा राष्ट् वा दुनियाँको हितका लागि समानता र विकासका लागि निश्चित उद्देश्य साथ अगाडी बढ्ने र राज्य सञ्चालनमा भुमिका खेल्ने प्रक्किया हो। वादहरु त केवल पार्टी निमार्णका आधार हुन् तसर्थ दोस्रो पुस्ताले वाद भन्दा माथि उठेर सवल पार्टी निमार्णका लागि नेतृत्व परिवर्तनका लागि नेतृत्व लिनु आजको ज्वलन्त आवश्यकता हो। जसले गर्दा पार्टी र देशको लागि हिमायति बन्ने अवसर आम युवालाई प्राप्त हुन्छ।