साहित्य

साहित्यसुधा नेपालको आयोजनामा ‘मनको किरण’को भव्य विमोचन

२६ असार, काठमाडौं । साहित्यसुधा नेपालको आयोजनामा जुममार्फत कवि महेशराज खरेलको कृति ‘मनको किरण’को भव्य विमोचन कार्यक्रम सम्पन्न भएको छ।

नगाधिराजको जुम व्यवस्थापन, संस्थाकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षता, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य, प्रज्ञाका प्राज्ञद्वय-हेमनाथ पौडेल र देवी नेपाल अनि डा.गोविन्दराज भट्टराईको विशिष्ट आतिथ्य,गीता त्रिपाठीको कृति समीक्षामा सम्पन्न उक्त कार्यक्रमको सटिक सञ्चालन संस्थाकै महासचिव इन्दिरा दाहालले गरिन्।

लामो समको जागिरेजीवनबाट अवकाशपछि साहित्यिक क्षेत्रमा समर्पित हुने अठोटका साथ पहिलो कृतिकारका रूपमा प्रकाशित महेश खरेलको यसै सेरोफेरोमा रहेर माथि उल्लेखित सबै वक्ताहरूले प्रकाश पारे। यस अतिरिक्त उनलाई शुभकामना दिदै यसै संस्थका सल्लाहकार कलानिधि दाहालले उनलाई अल्छेको उपाधि पनि दिए।

साहित्य सुधा नेपाल यसकी कल्पनाकार मनीषा प्रसाईसम्मको उल्लेख गर्दै संस्थाका संरक्षक देवी नेपालले संस्थाले अहिलेसम्म गरेका उत्कृष्ट कार्यको चर्चा गर्दै अब्बल दर्जामा अहिलेसम्म रहिरहेको उल्लेख पनि सप्रमाण प्रस्तुत गरे।

डा।गोविन्दराज भट्टराईले भूमिका लेखेको यस कृतिकै चर्चाका क्रममा देश र प्रगतिशील साहित्यका सुरुङ्बाट साहित्यकार अगाडि बढ्नुपर्छ भन्ने हेमनाथ पौडेलको टिप्पणीप्रति कडा कटाक्ष गर्दै स्रष्टा स्वतन्त्र भएको, उसलाई कुनै सुरुङ्को निर्देशन, प्रगतिशीलताको पगरी र राष्ट्रभक्तिको सङ्कीर्ण जञ्जीर आवश्यक नरहेको मन्तव्य डा. गोविन्दराज भट्टराईले व्यक्त गर्नासाथ एकप्रकारको सन्सनीपूर्ण वातावरणीय आनन्द छाएको थियो।

अन्तमा सभापतिको मन्तव्य र सबै अतिथि,संस्थाप्रति कृतिकारको विश्वासलाई धन्यवाद दिदै आठ बजे कार्यक्रम समापन भयो।