पु.समाचार

मनसुनजन्य विपद्: पाँच हजार विस्थापित

१९ असार, काठमाडौं । मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ को मृत्यु भएको छ । चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्मा परेर आजमात्रै थप चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङलगायत स्थानमा आज अवरोध भएका सडक पहिरो हटाइ सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ । केही सडक खुलेका छन् । प्राप्त विवरणअनुसार बाढीका कारण ७९० घर डुबानमा, ५१९ घर, ९० गोठ, ३९ वटा पुल, ३ विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८१८ वटा पशुचौपाया मरेका छन् ।

पछिल्लो २० दिनमा मृत्यु भएका ३८ मध्ये २० पुरुष, ११ महिला, चार बालक र तीन बालिका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका पाँच, डोटीका चार, रोल्पा र गोरखाका तीनरतीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुईरदुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुराका एकरएक जना रहेका छन् ।

विपद्मा परेर अहिलेसम्म २४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका २०, चितवनका तीन र बाजुराका एक जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

आज गोरखा र धादिङमा मानवीय क्षति

पहिरामा पुरिएर आज गोरखा र धादिङमा गरी चार जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाइएको छ । यस्तै धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर एक पुरुषको पनि ज्यान गएको जनाइएको छ ।

उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ । अन्य तीन घाइते भएका थिए ।