अन्तर्राष्ट्रिय

पूर्वी अफगानिस्तानमा १० तालिबानी लडाकू मारिए

काबुल, १६ असार । पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।
सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो । सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो ।
छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिबान लडाकूहरुलाई शिनबार जिल्लाबाट मङ्गलबार भगाएको पनि सेनाले जनाएको छ ।
परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिबान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरु स्वदेश फर्किन लागेसँगै तालिबान समूहले अफगानिस्तानका सरकारी फौजसँग प्रतिरोधपूर्ण संघर्ष गरिररहेको छ । पछिल्लो विवरण अनुसार तालिबान समूहले देशका ४० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको तालिबान समूहले दाबी गरेको छ ।