साहित्य

तुलसी गौतमको टिप्पणीः पठनीय पुस्तक

७ असार, काठमाडौं । निजामती कर्मचारीमा करिब ३५ वर्षको अनुभव सँगाली कर्मचारी वर्गको उपल्लो तह सचिव र निर्वाचन आयुक्तसमेत भई २० वर्षअघि सेवानिवृत्त हुनुभएका डमरुबल्लभ भट्टराईद्वारा लिखित ‘अनुभव र चिन्तन’ शीर्षक पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको छ । नेपालको प्रशासनिक संयन्त्रमा विभिन्न पदमा रही काम गर्दाका अनुभव र त्यसबाट खारिएको चिन्तन प्रस्तुत गरिएको यो एक आत्मकथा (अटोबायोग्राफी) हो । साना(साना ३९ वटा उपशीर्षकका विभाजन गरी लेखिएका लेखहरु लेखकका निजी अनुभव हुन् ।
यसमा पाँचथर, जाजरकोट, संखुवासभा, धादिङ, सल्यान र काठमाडौंमा करिब १३ वर्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा काम गरेको पञ्चायती व्यवस्थाक‍‍‍ो अनुभव र ४६ सालको परिवर्तनपछि सचिवका हैसियतमा ५ जना प्रधानमन्त्रीसँग काम गर्दाको अनुभव प्रस्तुत गरिएको छ ।
यसमा मुख्य गरी २०४५ सालको नाकाबन्दी, २०४६ सालको परिवर्तनपछि कर्मचारीतन्त्रमा आएको फेरबदल र त्यसले ल्याएको विकृति-विसङ्गति, राजनीतिक दलको आडमा कर्मचारी युनियनको हाबी, योजना आयोगको दुर्दशा, मेलम्ची खानेपानी आयोगको कथा, अरुण तेस्रोको असफलता, हचुवाको भरमा गरिएको कमैया मुक्ति आदि कुरा पठनीय पाठहरू हुन् । यिनै पाठहरूले नेपालको कर्मचारीतन्त्र र राजनीतिक दलहरूको चरित्र चित्रण गरेको छ ।
यसको लेखन शैलीले लेखकको शालीन व्यक्तित्वलाई स्वयं प्रकट गरेको छ किनभने विमतिका स्वरहरूसमेत कसैलाई नबिझाई राखिएको छ । नेपालको प्रशासनिक संयन्त्र बुझ्न यो एउटा महत्त्वपूर्ण पुस्तक हो ।