पु.समाचार

कांग्रेस बैठकः बाढीपहिरो प्रभावितको खोजी, उद्धार, उपचार, स्थानान्तरणमा जुट्न सरकारसँग माग

३ असार, काठमाडौं । नेपाली कांग्रेसले देशभर बाढीपहिरामा परी हराएकाहरुको खोजी र उद्धार गर्न, घाइतेको उपचार तथा विस्थापितलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण गर्न तथा राहतमा जिम्मेवारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले बाढीपहिराको सजग भएर सामना गर्न तथा आफ्नो पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा संलग्न हुन आह्वान गरेको छ ।
बैठकले सरकारका तीनै तहलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुट्न आग्रह गरेको छ । बैठकले विपद्मा परी निधन भएका प्रति श्रद्धाञ्जति व्यक्त गर्दै परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले कोभिड–१९ नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाका कारण आर्थिक संकटमा परेका निम्नवर्ग र श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नुपरेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ ।
कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।
बैठकले सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्साको पार्टी अन्तरिम संरचना समायोजनसम्बन्धी उजूरी र गुनासाको कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका नभएका सन्दर्भमा सोही निर्देशिकाबमोजिम हुने गरी यही असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुङ्गो लगाई पार्टीसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौंँ महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावलीअनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णयलगायत आवश्यक कागजातसहित पेश हुन आएकाले क्रियाशील सदस्यता स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गत जेठ २८ गते प्रदेशसभामा बोलेको विषय संसद्को नियमानुसार संसद्मै टुंगिसकेपछि पनि उक्त विषयलाई लिएर उहाँविरुद्ध संविधान प्रतिकूल हुने गरी कुनै प्रक्रिया नगर्न, नगराउन सरकारलाई सचेत गराएको छ ।
सभापति शेरबहादुर देउवाका सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाई र डा टिएन योगीले आआफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।