पु.समाचार

पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेत होऔँः स्वास्थ्य मन्त्रालय

३ असार, काठमाडौं । वर्षात्को समयमा बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरसफाईसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस बाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन सबैको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधी, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ । यस्तै स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ । मन्त्रालयले वर्षायामको शुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विपद्को यो समयमा खोजी तथा प्रभावित व्यक्तिको उद्धारमा सरकारको संयन्त्र परिचालन भएकाले साथ र सहयोगको अपेक्षा गरेको छ ।