पु.समाचार

सूर्यविनायक नगरसँग स्वास्थ्यमा बजेट केन्द्रित गर्न काँग्रेसको माग

२ असार, भक्तपुर । नेपाली कांग्रेसले सूर्यविनायक नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रित गर्न माग गरेको छ । कांग्रेस सूर्यविनायक नगर समितिले आज नगरप्रमुख वासुदेव थापालाई ज्ञापनपत्र बुझाउँदै आवश्यक परे विकास बजेट कटौती गरेर भए पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको हो ।
कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार विष्णुराज कार्कीका नेतृत्वमा कांग्रेस सूर्यविनायक नगर सभापति बालकृष्ण थापालगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै नगरवासी सम्पूर्णलाई यथाशक्य छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न, सबै वडामा रहेका स्वास्थ्य केन्द्रको व्यवस्थापन, अन्तरराष्ट्रिय स्वास्थ्य मापदण्डबमोजिमका परीक्षण सामग्री, खोपलगायत उपकरण भण्डारणको व्यवस्थापन, उच्चस्तरीय प्रयोगशालाको व्यवस्था गर्न माग गरेको छ । नगरका सार्वजनिक पर्ती जग्गाको संरक्षण, तत्काल किसानलाई मल, बीउबिजनको उचित व्यवस्थालगायत माग पनि गरिएको छ ।