शिक्षा

अन्तर विद्यालयस्तरीय कविता प्रतियोगितामा पोखरेल प्रथम

२ असार, काठमाडौं । अन्तर विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यू बोर्डिङ स्कुल काठमाडौँकी छात्रा समृद्धि पोखरेल प्रथम भएका छन् । ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा मङ्गलबार भएको अन्तर विद्यालयस्तरीय प्रतियोगिताको आज सार्वजनिक परिणामअनुसार पोखरेल प्रथम भएका हुन् ।

यस्तै, दोस्रोमा पूर्णचण्डी बोर्डिङ स्कुल ललितपुरकी सानिया लामा र तेस्रोमा पिस प्वाइन्ट एकेडेमी ललितपुरका शुभम कार्की भएका छन् । यस्तै सान्त्वना पुरस्कार कामना आवासीय माविका अर्पन सिग्देल, पिक प्वाइन्ट बोर्डिङका सारिका लिम्बू, सेन्ट जेभियर स्कुलका इभाष पोखरेल र ग्रिनफिल्ड नेशनल स्कुलका सुस्मिता सापकोटाले पाएका छन् । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु आठ हजार, दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले यस्ता प्रतियोगिताले बालबालिकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । कोषका अध्यक्ष वसन्तराज कार्की, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष खड्गबहादुर बस्नेत, नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठलगायतले यस्ता प्रतियोगिताले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।